काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुगेकि छिन् ।भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा गएकी डा. राणालाई आइतबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।
भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ।
मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीले बिदाइ गरेका थिए ।
मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानालगायत सहभागी थिए । परराष्ट्रमन्त्री राणा भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।