साफ यु-२० च्याम्पियनसिप : आज नेपाल र भुटान सेमिफाइनलमा भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले हराएको हो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले हारेको भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गरेको हो ।