काठमाडौं । काठमाडौं उपत्यका, अधिक सवारी र साँघुरो सडक संरचनाका कारण अत्यधिक सडक जाम हुने शहरमध्ये एकमा गनिन्छ ।
यसले मानिसको जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । यसै सन्दर्भमा काठमाडौंमा स्थायी रुपमा जोर-विजोर प्रणाली लागु गर्द माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ ।
काठमाडौं उपत्यकामा अत्यधिक ध्वनी प्रदूषण र टाफिक जाम भएकाले जोर-विजोर प्रणाली माग गरिएको रीट दायर भएको हो । अधिवक्ता रिता कार्की र श्यामकुमार श्रेष्ठले सात पृष्ठ लामो रीट सर्वोच्चमा दर्ता गराएका हुन्।
रीटमा स्थायी रुपमा जो(बिजोर नम्बर अनुसार सवारी संचालनको आदेशको माग गरिएको छ । २० वर्ष पूराना सवारी साधन उपत्यकामा गुड्न दिन नहुने र प्रभावकारीरुपमा वातवरण प्रदूषणको जाँच गरिनु पर्ने मागसमेत रीटमा छ ।
रीटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १५ सरकारी संयन्त्रलाई विपक्षी बनाइएको छ ।
काठमाडौं उपत्यकामा अति विशिष्ट व्यक्तिका सवारी साधन, आकस्मिक सेवामा गुड्ने सवारी साधन, निजामती कर्मचारी एवम् संस्थानका सवारी साधन, सुरक्षाकर्मीका सवारी साधन, विदेशी कूटनीतिक नियोगका सवारी साधन, विकलाङ्ग व्यक्तिले चलाउने व्यक्तिगत बाहन, बालबालिका बोक्ने विद्यालयको सवारी साधनबाहेक अन्य सबै व्यक्तिगत तथा भाडाका सवारी (दुई पांग्रे र चार पांग्रे) का लागि स्थायीरुपमा जोर बिजोर प्रणालीको माग गरिएको छ ।
यसमा सर्वोच्चले सकारात्मक आदेश दिएमा काठमाडौं धेरै हदसम्म चुस्त शहरका रुपमा स्थापित हुने देखिएको छ ।