चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन


काठमाडौ । दशै, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ ।


चाडपर्वको समयमा काठमाडौबाट बाहिरिने यात्रुको चाप अत्याधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले त्यसको नियन्त्रणका मन्त्रालयले अग्रसरता लिएको हो ।

आईतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरुबिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व शुरु हुनु अघिनै सडकका खाल्डाखुल्टीहरु तत्काल पुरि सक्न निर्देशन दिए ।

जोखिम रहेका स्थानहरुमा सडक सुरक्षाका पूर्वाधारहरु निर्माण र मर्मत गर्न निर्देशन दिनु हुँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पु¥याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे ।


सडक सुरक्षाको दिर्घकालिन व्यवस्थापनका लागि नीतिगत र कानूनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उहाँले सडक सुरक्षा परिषदलाई क्रियाशिल र प्रभावकारी बनाईने समेत बताए । सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरु विच सहकार्यको खाँचो रहेकोमा समेत जोड दिए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरु नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्युनिकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए । लामो दुरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन समेत उहाँले जोड दिए ।