काठमाडौं । यसकारले नेपालको सीमा नाकामा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट (बीओपी) थप्ने भएको छ ।
मन्त्रिपरिषदको अघिल्लो सोमबारको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
उनका अनुसार नेपाल भारत र नेपाल चीन दुवैतिर सीमा क्षेत्रमा अब कूल २२१ वटा बीओपी पुग्ने भएका छन् । यसअघि १०७ वटा बिओपी राखिएका थिए ।
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र सीमा सुरक्षालाई प्राथमिकता दिएर बीओपी स्थापना गर्न लागिएको उनले बताए । यो सीमा विवादसँग सम्बन्धित विषय भने नरहेको उनले स्पष्ट पारे ।
सीमा क्षेत्रमा राज्यको उपस्थिति मजवुत बनाउन खोजिएको भने उनले जानकारी दिए । भारतसँग सीमा विवाद बल्झिरहने दार्चुलाको ब्यास गाउँपालिका १ मा पनि बोर्डर आउटपोष्ट स्थापना हुने भएको छ ।
यस गाउँपालिकाको छाङरुङबाट दुम्लिङसम्मको घोडेटो बाटो पनि संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको छ ।
यहाँ बाटोको अभावले नागरिकले भारतीय भूमिको प्रयोग गर्नु परेको थियो । कूटनीतिक तवरबाट समाधान गर्नुपर्ने विषयबाहेक सीमा क्षेत्रमा नेपालको मजवुत उपस्थिति नहुँदा पनि भारतले सीमा मिच्ने गरेको छ ।