बी.के. नेवा, न्युयोर्क ।
हरेक वर्षझैँ यस पटक नेवा गुठी न्युयोर्कले न्युयोर्कमा भव्यरुपमा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाएको छ ।
न्युयोर्कका ज्याक्सन हाइटमा नेवारी परम्पराले सिँगारिएको समयबजीको प्रतिक जसमा चिउरा, माछा, उसिनेको अण्डा, बारा, उसिनेको आलु, छोइला, अदुवा, मिठाई र फलफूलले सजाएको चिन्ह राखिएको थियो । उक्त प्रतिक हेर्न र फोटो खिच्न ठूलो संख्यामा मानिसको भिड लागेको थियो ।

उक्त कार्यक्रममा कुमारीलाई रथमा राखेर चार जनालेले रथ बोकेर परिक्रमा गराएका थिए । कुमारीको अगाडि लाखेले नाच्दै कुमारीको रथलाई अगाडि बढाएको थियो ।
कुमारीलाई रथबाट ओराली सिँगारेको आसनमा विराजमान गराएपछि मुख्य जात्राको कार्यक्रम सुरु भई लाखेले खुसी भई कुमारीलाई ढेगेपछि नाच्दै दर्शकसित रमाएको थियो ।
इन्द्र देवताको बाहन पुलुकिसी(ऐरावत हात्ती)ले पनि कुमारीको दर्शन गरेपछि खुसीले आफ्नो नाच देखाएको थियो ।

कार्यक्रम संयोजक सुवर्ण शाक्यले स्वागत भाषण गरेपछि शुरु भएको कार्यक्रममा सन्तोष महर्जन, राजेन्द्र महर्जनलगायतले धिमे नृत्य प्रस्तुत गर्नुभएको थियो भने धिमय बजाउनेहरुमा न्हुच्छेनारायण डंगोल, नारायण महर्जन, मिन नकर्मी आदित्य महर्जन हुनुहुन्थ्यो ।

लाखेको भूमिकामा देविस श्रेष्ठ, कुमारी हुनेमा माया महर्जन र पुलुकिसीमा निराज महर्जन र आरब महर्जन हुनुहुन्थ्यो ।
कबिना महर्जनले कार्यक्रमको सांस्कृतिक पक्षको जानकारी दिएको थियो समिर महर्जनले कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्रमको महत्ववारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई कुमारीको प्रसाद स्वरुप समयबजी वितरण गरिएको थियो ।