काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम तत्काल अगाडी नबढाउने अन्तरिम आदेश दिएको छ ।
आइतबार विमानस्थलका लागि रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
रुख कटानको विषयलाई लिएर सर्वाेच्चमा रीट दायर भएको थियो ।
जसमध्ये पूर्वप्रशासक द्वारिकानाथ ढुंगेललगायतले दायर गरेको रीटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिँदै तत्काल काम अगाडी नबढाउन अन्तिम आदेश गरेको छ ।
रीटमा यसअघि सर्वोच्चले १९ मंसिरमा निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न अन्तरकालिन आदेश दिएको थियो ।
आइतबार रिट निवेदक र सरकार दुबै पक्षको बहस सुनेपछि संयुक्त इजलासले रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।
विमानस्थलबारे वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले पनि सर्वोच्चमा रिट दायर गरेका छन् । निजगढ विमानस्थलसम्बन्धी दुबै रिटलाई एकसाथ राखेर सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको छ ।
सर्वोच्चले निजगढ विमानस्थलका लागि रुख कटानमात्र रोकेको हो । यो विमानस्थलको काम अगाडी बढाउने तयारी सरकारले गरिरहेको समयमा आएको सर्वोच्चको आदेशले काममा केही ब्रेक भने पक्कै लाग्नेछ ।