काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले आक्रमण थालेको छ । यसले नेपालीसहित निहत्था नागरिकको असुरक्षाको जोखिम बढेको छ । इजरायलले आफूले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो । त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।
लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ । इजरायली सेनाले लेबनानको ४०० मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको मृत्यु भइसकेको छ । हाल हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ ।
लेबनान सरकारको समाचार एजेन्सी नेशनल न्यूज एजेन्सी (एनएनए)ले लेबनानको एतारुनमा भएको इजरायली आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यसअघि इजरायलको सिमानासँग जोडिएको देबेल गाउँमा पनि तीन जनाको मृत्यु भएको थियो । यो युद्धपछि मध्यपूर्व पुनः तनाव बढेको छ । मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ ।