न्यूह्यामसरमा दशैं उत्सव, समाजसेवी थापा र गुरुङ सम्मान्नित

म्यानचेष्टर

न्यूह्यामसर नेपाली समाजको आयोजनामा शनिबार बृहत दशैं उत्सव साँझ सम्पन्न भएको छ । राज्यका बिभिन्न भेगमा बसोबास गर्ने नेपालीहरु म्यानचेस्टरमा भेला भएर सामुहिक रुपले दशै साँझ मनाएका हुन् ।

उत्सवमा बिभिन्न सांगितक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै दशैं साँझको अवसर पारेर समाजले पूर्व अध्यक्ष एवं समाजवेसी रविन थापालाई सम्मान समेत गरेको छ । स्थानिय समिट न्यूह्यामसरका अध्यक्ष रहेका थापाले समाजले आयोजना गर्ने हरेक कार्यक्रमलाई खुलेर सहयोग गर्दै आएका छन्।

समाजले बर्षेनी आयोजना गर्ने सकर (फूटबल) प्रतियोगितामा थापाले मुख्य प्रायोजकको रुपमा सघाउँछन् भने अन्य गतिविधीमा पनि उत्तिकै खुलेर सहयोग गर्दै आएका छन् । थापाको समिट न्यूह्यामसरसँगकै सहकार्यमा समाजले बार्षिक रुपले स्वयंसेवी (भोलुनटिअर) अवार्ड पनि वितरण गर्दै आएको छ ।

थापालाई समाजका अध्यक्ष लाक्पा शेर्पा, संस्थापक अध्यक्ष मिन गौतम एवं पूर्व अध्यक्ष सोम गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मान पछि बोल्दै थापाले परदेशमा आएर नेपालीहरुलाई जोड्ने गतिविधीमा समाजले चालेको कदमको सह्राना गरेका थिए । ‘खेलकुद देखि सांस्कृतिक गतिविधीसम्मको प्रवर्धनमा न्यूह्यासर नेपाली समाज खटि रहेको छ, आगामी दिनमा यसले निरन्तरता पाओस्’ थापाको भनाइ थियो ।

यस्तै समाजले गत बर्ष वितरण सुरु गरेको एनएचएनसी भोलुनटिअर अवार्ड न्यूह्यासर दिदी बहिनी समुहकी अध्यक्ष किरण गुरुङलाई प्रदान गरेको छ । हरेक सामाजीक गतिविधीमा अहोरात्र खट्ने गुरुङको सकृयतालाई कदर गर्दै समाजले उक्त अवार्ड प्रदान गरेको हो । गुरुङलाई समाजका अध्यक्ष शेर्पा एवं पूर्व अध्यक्षहरु गौतम, थापा र गुरुङले सम्युक्त रुपमा सम्मान एवं प्रोत्साहन स्वरुप एक हजार डलर नगद सहित अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा न्यूह्यामसरका बिभिन्न भेटमा रहेका फरक उमेर समूहका कलाकारहरुले गायन, नृत्य लगायतका कला प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी सम्पुर्णलाई स्वागत गर्दै समाजका उपाध्यक्ष माधव गुरुङले दशैंको अवसरले बिदेशको व्यस्त समयमा पनि एक आपसमा भाइचारा र खुसीयाली साट्ने अवसर प्रदान गरेको बताए ।

समाजका अध्यक्ष शेर्पाले यस्ता सांस्कृतिक चाडबाड र उत्सवमा सबैको सहभागिताले मात्र भावी पुस्तालाई आफ्नो संस्कार र संस्कृति सिकाउन सकिने उल्लेख गरे ।