प्यालेष्टाइन आक्रमणको एक वर्ष पुरा, थामिएन मध्यपूर्वमा युद्ध

काठमाडौं । गाजामा युद्ध निम्त्याउने गरी हमासले दक्षिणी इजरेलमा गरेको आक्रमणको ठिक एक वर्ष पुगेको छ । उक्त समूहले सोमवार तेल अभिभलाई निशाना बनाएर कैयौँ रकेट प्रहार गरेको बीबीसीले जनाएको छ । जसका कारण इजरेलमा चेतावनीका साइरन बजाइएको छ । इजरेली सेनाले कैयौँ रकेटहरू आकाशमै नष्ट गरिएको बताएको छ। हमासलाई समाप्त पार्ने लक्ष्यसहित सुरु गरेको आक्रमणको १२ महिनापछि इजरेलले दक्षिणी गाजामा थप आक्रमणहरू हुने चेतावनी दिएको छ।

हमासले गत वर्ष अक्टोबर ७ मा इजरेलमा हमला गरेको एक वर्ष पुग्दै गर्दा सोमवार इजरेल, हमास र हिज्बुल्लाह सबैले अर्को पक्षविरुद्ध आक्रमण गरेका छन्। इजरेल सहित विश्वभरि हमास हमलाको स्मरण गरिएको छ। उक्त हमलामा हमासले १,२०० जना मानिसको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएको थियो। त्यसयता इजरेली हमलामा गाजा क्षेत्रमा झन्डै ४२ हजार मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उता, सोमवार इजरेलले दक्षिण लेबननमा गरेको हमलामा कैयौँ अग्नि नियन्त्रकहरू मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेली सेनाले गाजा र लेबननमा हमास र हिज्बुल्लाहका निसानाहरूमा हमला गरेको बताएको छ। गाजाबाट इजरेलतर्फ रकेट प्रहार गर्दा तेल अभिभमा दुईजना घाइते भएको बताइएको छ।

हिज्बुल्लाहले पनि उत्तरी इजरेलमा क्षेप्यास्त्र प्रहार गर्दै ७ अक्टोबरका घटनालाई “साहसपूर्ण” भनेको छ। उसले इजरेली फौजको प्रतिरोध गर्न सकिनेमा आफूहरू विश्वस्त भएको बताएको छ। अक्टोबर ७ को स्मरण गरिँदै गर्दा गत साता इरानले गरेको बलिस्टिक क्षेप्यास्त्र हमलाको इजरेलबाट हुने ठानिएको बदला कारबाहीलाई लिएर सम्पूर्ण मध्यपूर्व क्षेत्र चिन्तापूर्ण पर्खाइमा रहेको देखिने बीबीसी संवादददाता जेरमी बावेनले जनाएका छन्।

“इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानको आक्रमणको जबाफ आफूले सही ठहर्‍याएको समय र तरिकामा दिइने बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले इरानको परमाणु वा तेल प्रशोधन स्थलहरूमा आक्रमण भएको हेर्न नचाहेको बताएका छन्। इजरेलीहरू इरानलाई पोहोरको हमास हमलाको समर्थक ठान्छन् र राष्ट्रपति बाइडनको सल्लाह नमान्न त्यहाँ दबाव बढेको छ,” जेरमी बावेन भन्छन्।

A member of the security forces walks past an Israeli police station in Sderot after it was damaged during battles to dislodge Hamas militants who were stationed inside, on October 8, 2023. Israel’s prime minister of October 8 warned of a “long and difficult” war, as fighting with Hamas left hundreds killed on both sides after a surprise attack on Israel by the Palestinian militant group. (Photo by RONALDO SCHEMIDT / AFP)

अमेरिकी राष्ट्रपति जो बाइडनले यो एक वर्षमा धेरै गैरसैनिकले दुःख पाएको बताएका छन्। इजरेल एक्लो नभएको पनि उनले बताए। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पीडितहरू सदा सम्झनामा रहने बताए भने ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरले अक्टोबर ७ लाई होलोकस्ट यता यहुदीहरूमाथि आइपरेको सबैभन्दा अँध्यारो दिन भनेका छन्। जर्मन चान्सलर ओलाफ सोल्जले उनको देशले इजरेलको पीडा बुझेको बताए।

इजरेलका राष्ट्रपति आइज्याक हर्जोग नोभा साङ्गीतिक कार्यक्रम भएको स्थलमा पुगेर त्यहाँ आयोजित स्मृति सभामा सामेल भए। हमासले हमला गर्नु अघि बजेको अन्तिम गीत त्यहाँ सोमवार बजाइएको थियो। आफन्तहरूले मारिएका सयौँको फोटो उचालेका थिए।