काठमाडौं । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। बीस लाख घर तथा व्यवसायहरू अझै विद्युत्विहीन छन्। बाढीग्रस्त क्षेत्रबाट हजारौँको उद्धार गरिएको छ। अधिकारीहरूले आउँदा दिनमा पनि बाढी आउने सम्भावना रहेको चेतावनी दिएका छन्। फ्लोरिडाको पश्चिम केन्द्रीय तटमा अवस्थित पिनेलस काउन्टी उद्धारकार्य चलिराखेको स्थानमध्येको हो।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार त्यहाँको एउटा आवासीय भवनको दोस्रो तलाको बार्दलीसम्म पानी भरिएको थियो। उक्त भवनबाट फसेका ४३० जनालाई बाढीबाट उद्धार गरिएको थियो। आँधी आउनुअघि पिनेलस काउन्टीसहित तटीय क्षेत्रका मानिसहरूलाई अन्यत्र जान भनिएको थियो। उक्त आँधी फ्लोरिडामा बज्रिँदा रातिको समय थियो। बिहीवार लिइएका तस्बिरहरूले उक्त आँधीको व्यापक प्रभाव र यसले पुर्याएको क्षतिलाई दर्साउँछन्। उद्धारकर्मीहरूले शुक्रवार पनि खोजी कार्य जारी राखेका छन्। सरसफाइ कार्यका निम्ति हप्तौँ वा महिनौँ लाग्न सक्ने बताइएको छ।
फ्लोरिडाबाट पूर्वतिर सर्दै एट्लान्टिक महासागर पुग्दा उक्त आँधीको गति तीव्र गतिमा कमजोर भइरहेको छ। ट्रपिकल चक्रवातका सबै विशेषताहरू गुमाएको यसलाई अहिले ‘पोस्ट’ ट्रपिकल मिल्टन भनिएको छ। शुक्रबार विशेष गरी फ्लोरिडाको पूर्वी तटमा अलिअलि हावा चल्नेछ, तर दिउँसो कमजोर हुने बताइएको छ। आगामी केही दिन राज्यका अधिकांश भाग सुक्खा रहने छन्, तर शुक्रबार पूर्वी र दक्षिणी फ्लोरिडामा पानी पर्ने सम्भावना छ। तीमध्ये केही ठाउँमा चट्याङसहित ठूलो वर्षा हुन सक्ने ठानिएको छ।
बीबीसी