साफ फुटबलको दोस्रो ठूलो मेला वुमन्स च्याम्पियनसिप नेपालमा हुँदै, तयारी पुरा

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अहिलेसम्म ३ टिम नेपाल आइसकेका छन् । दुई टिम आउट बाँकी छ ।


केही टिम र अफिसियलहरु बुधबार बिहानसम्म आईपुग्नेछन् । दशरथ रंगशाला तयारी अवस्थामा रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेको र भारत र भुटान बुधबार बिहान सम्म काठमाडौं आइपुग्ने छन् ।

प्रतियोगिताको तयारीका लागि २३(सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको टिकेटिङ्ग अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट्सलाई प्रदान गरिएको छ। प्रतियोगिताको समुह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ रु ३०० र भीआइपी तर्फ रु ५०० तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ रु ५०० र भीआईपीतर्फ रु १००० कायम गरिएको छ। प्रतियोगिताको १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।