काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको दावि गरेका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको बताएका थिए ।
त्यसलगत्तै अमेरिकी रक्षामन्त्रीको बयान सार्वजनिक भएको हो । इटालीको रोम भ्रमणमा रहेका उनले पत्रकारहरुसँग कुरा गर्दै कोरियाली सैनिकले ठ्याक्कै के गरिरहेका छन्, त्यो हेर्न बाँकी रहेको बताए । उनले भनेका छन्, “यदि ती सैनिकहरूले रुसको पक्षमा युक्रेन युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा’ हुनेछ”, यसले युरोप र इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने उनको दावि छ ।
दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताएका थिए ।
अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिकरुपमा पुष्टि गरेका थिएनन् तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् ।
दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक चो ताए–योङले बुधबार सांसदहरुलाई अर्को एक हजार पाँच सय उत्तर कोरियाली सैनिक रुस प्रवेश गरेको जानकारी दिएका छन् ।