युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?

Getty Images

काठमाडौं । इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्किंदै गए पनि सरकारले लेबनानमा त्यहाँ श्रमिक पठाउन बन्द गरेको छैन । लेबनानमा कार्यरत करिब ७ सय जना घरेलु महिला श्रमिकहरु त्रासमा रहेका बेला सरकारले लेबनानमा थप श्रमिक जान नदिने गरी कुनै निर्णय गरेको छैन ।

वैदेशिक रोजगार विभागले त्यहाँको सुरक्षा अवस्था र थप श्रमिक पठाउँदा हुन सक्नेबारे परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएको छ । विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार श्रम स्वीकृति रोक्नेबारे छलफल भइरहेको छ ।


उनका अनुसार ‘परराष्ट्र मन्त्रालयले चासोका साथ त्यहाँको अवस्था हेरिरहेको छ । अहिलेसम्म सरकारले लेबनानमा रहेका नेपालीहरु असुरक्षित रहेको निष्कर्ष निकालिसकेको छैन। लेबनानी मन्त्रिपरिषको विपद् जोखिम व्यवस्थापन इकाइले मंगलबार जारी गरेको प्रतिवेदन अनुसार लेबनानमा इजरायली हवाई हमलाबाट मृत्यु हुनेको संख्या २ हजार ५३० पुगेको छ, आक्रमणहरुमा ११ हजार ८०३ जना घाइते भएका छन् ।

लेबनानमा धेरैजसो महिला घरेलु श्रमिकहरु छन् । धेरैजसो बेरुत लगायतका शहरमा काम गरिरहेका छन् । सरकारले युद्धग्रस्त लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । इजरायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले गत १५ असोजमै सूचना जारी गरेर लेबनानमा अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको थियो । कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न इजिप्टको कायरोस्थित नेपाली राजदूतावास, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरु र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरिएको छ ।

कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी मन्त्रालयले परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा पनि सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।