काठमाडौं । घर र गाडी किन्दा बैंकले दिने कर्जामा राष्ट्र बैंकले कडाई गरेको छ।
बैंक तथा वित्तीय संस्थाका नाममा मंगलबार नयाँ निर्देशन जारी गरेको राष्ट्रबैंकले ऋणीको आयस्रोतमा हुने भुक्तानी र त्यसको किस्ता रकमको परिमाणमा कडाई गरेको छ ।
ऋणीले तिर्ने किस्ता रकम व्यक्तिको कुल आम्दानी भन्दा ५० प्रतिशत नाघ्न पाउने छैन । ऋण भुक्तानीलाई आम्दानीको अनुपातसँग सन्तुलित राख्न यस्तो नियम ल्याउने परेको राष्ट्र बैंकको भनाई छ ।
अब व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर तथा हायर पर्चेज कर्जामा राष्ट्रबैंकले कडाई गरेको हो । ऋणीको आयमा समेत स्रोत खुल्नु अनिवार्य भएको छ । त्यसका लागि आय खुल्ने कागजात देखाउनु पर्ने भएको छ ।
अहिले किस्ता धान्न सक्ने आम्दानी पेश गरेको अवस्थामा बैंकले सजिलै ऋण दिने गरेका थिए । अब भने स्रोत खुल्ने आम्दानीको ५० प्रतिशतभन्दा बढी किस्ता हुन नपाईने गरी निर्देशन आएको छ ।
अब मासिक ३० हजार कमाई हुने व्यक्तिले १५ हजारभन्दा माथिको किस्ता बुझाउने गरी कुनै पनि बैंकबाट ऋण नपाउने भएको हो ।
विगतमा वास्तविक आम्दानी भन्दा बढीको आय देखाउने र ऋण लिने अनि तिर्न नसकेर टाट पल्टने परिपाटी रहेको भन्दै यस्तो प्रवृत्ति अब हट्ने राष्ट्रबैंकको विश्वास रहेको छ ।