काठमाडौं । अनुमति नलिई नेपाल आएको थाई एयर एसियालाई तत्कालका लागि नेपालमा उडान गर्न रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विनाअनुमति यात्रु बोकेर थाइल्यान्डको बैंककबाट काठमाडौं आएको थाई एयर एसियालाई तत्काल कुनै पनि उडान गर्न नदिने निर्णय गरेको हो । अर्को निर्णय नभएसम्म थाई एयर एसियाको नेपालका सबै उडान निलम्बन गरिएको प्राधिकरण स्रोतले जनाएको छ । अर्को निर्णय नभएसम्म उसलाई टिकट नकाट्न पनि पत्राचार गरिएको छ ।
यसअघिका निर्धारित उडानहरू समेत रद्द गरिएको छ । आजबाट ‘विन्टर सेड्युल’ सुरु भएको थियो । सोही अनुसार कम्पनीले अनुमति नलिई जहाज काठमाडौं ल्याएपछि कारबाही स्वरूप उसका सबै उडान रोकिएको हो । थाइल्यान्डको बैंककबाट थाई एयर एसियाको उक्त जहाज आइतबार दिउँसो काठमाडौं आएको थियो । उसले दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताएको थियो ।
तर, जहाजको उडान अनुमति शनिबार नै सकिएको थियो । अनुमति नलिई आएको जहाजलाई प्राधिकरणले आधा घण्टाभन्दा बढी आकाशमै ‘होल्ड’ गराएको थियो । तर, मानवीयताका आधारमा अवतरण अनुमति दिइएपछि जहाज त्रिभुवन विमानस्थल अवतरण गरेको थियो । जहाज अवतरण गरेपछि पनि प्राधिकरणले थप कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।