काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ । लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भएको हो । भोलि कार्यालय समय सुरु भएपछि पुनः सुरु हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो ।
प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो । बयान दिएर फर्कने क्रममा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले समर्थकलाई हेरेर हात हल्लाउंदै ‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ भने । विहानै भैरहवा ल्याउने र १० बजेबाट वयान हुने तयारी भएपनि मौसम खराबीका कारण उडान हुन नसक्दा दिउँसो पौने १ बजे उनलाई सरकारी वकिल कार्यालय पुर्याइएको थियो ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।
२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेको नाममा १ करोड ९६ लाख ऋण लगिएको देखिन्छ । त्यतिबेला रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको भूमिकामा थिए ।