काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा उनी मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग बयान लिएको छ । साथै कागज गराइएको छ ।
सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।
तर, उनलाई छानबिनको दायरामा नल्याएपछि सत्तारुढ दलका उपसभापति गुरुङलाई जोगाउन खोजेको आरोप लागेको छ । सीआईबीका अनुसन्धान अधिकृतहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले आफूले सहकारीको रकम अपचलन नगरेको दावि गरेका छन् । आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उनको भनाई छ ।
धनराज गुरुङ र ज्योति गुरुङ श्रीमान श्रीमती भए पनि २९ फागुन २०७६ मा सम्बन्धबिच्छेद भएको थियो । तर सहकारीको रकम अनियमितता गर्न नक्कली डिभोर्स गरेको आरोप पनि गुरुङमाथि थियो । सीआईबीसँगको बयानमा उनले आफ्नो साँच्चै सम्बन्धबिच्छेद भएको बताए ।