काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले बहिष्कार गरेपछि बस्न सकेको थिएन् । शुक्रबार भने बस्यो ।
बैठकले बहुमतका आधारमा वर्तमान कार्यसमितिको म्यादसमेत एक वर्ष लम्ब्याएको छ । कांग्रेसको वर्तमान कार्यसमितिको म्याद १९ फागुन २०७६ मा सकिन्छ ।
कार्यसमितिको म्याद सकिनेवित्तिकै महाधिवेशन गर्न सम्भव नभएको भन्दै केन्द्रिय समिति बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको एक वर्ष लम्ब्याएको हो ।
बैठकले १४ औं महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सक्न समितिले निर्वाचन समितिलाई आग्रह गरेको छ ।
माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण शुरु हुने भएको छ । नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची ०७७ आश्विनसम्म सकिने भएको छ ।
त्यसपछि अधिवेशनका काम प्रारम्भ हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य मात्र शुक्रबारको बैठकमा उपस्थित थिए ।
बैठकले केन्द्रीय विभागको संख्यासमेत थपेको छ । अब कांगे्रसमा ४७ केन्द्रिय विभाग हुने भएका छन् ।
विधानमा विभागको संख्या २८ रहने प्रावधान रहेको छ । बहुमतले गरेको यो निर्णयलाई पौडेल र कृष्ण सिटौला समूहले मान्नेमा भने शंका रहेको छ ।