कोरियाली जनतासँग राष्ट्रपतिले मागे माफी

काठमाडौं । सैनिक शासन (मार्शल कानुन) लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाली जनतासँग माफी मागेका हुन् । उनले मार्शल कानुन लागू गरेको २ घण्टामै संसद त्यसलाई खारेज गर्ने प्रस्ताव दर्ता भएको थियो ।

उनले त्यसलाई स्वीकार गर्दै मार्शल कानुन खारेज गर्दै सेनालाई फिर्ता गरेका थिए । ‘यो प्रक्रियामा मैले नागरिकहरूलाई धेरै असुविधा दिएँ र डराउनुभयो होला,’ असफल प्रयासपछि उनले भनेका छन्, ‘यसको बारेमा दुस्ख व्यक्त गर्दै भित्री ह्रदयदेखि माफी माग्छु ।’

माफी माग्दै उनले यसपछिका दिनमा आफूले यो कानुन लागू नगर्ने वाचा पनि गरेका छन् । उनले भनेका छन्, ‘म यहाँहरूलाई आश्वस्थ पार्न चाहन्छु, यो कानुन दोस्रो पटक लगाउने छैन ।’ राष्ट्रपति योलले आफ्नो कार्यकालमा भएका घटनाको जिम्मेवारी आफू र पार्टीले लिएर अघि बढ्नेसमेत बताएका छन् ।