एनपीएल : लुम्बिनीको लगातार तेस्रो हार

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित निकाल्दै लुम्बिनी लायन्सले भने लगातार तेस्रो खेल गुमाएको छ । शनिबार सम्पन्न खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८ ओ ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकीय साझेदारी गरे । जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे ।

म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए । कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले ११ विकेट लिए ।