विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरायो । जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश कीर्तनले सर्वाधिक ४० रन बनाए । ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन् सकेनन् ।

बलिङमा कर्णालीका नन्दन यादवले कसिलो बलिङ गर्दै तीन विकेट लिए । उनले चार ओभरमा १९ रन खर्चिए । विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।

कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेले । विलियमले सर्वाधिक ६६ रन बनाए । उनले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिए ।


उनले १७ रन खर्चिए । वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिए । कर्णालीको यो चार खेलमा दोस्रो जित हो । यता चार खेल खेलेको विराटनगरले तेस्रो हार खेपेको छ ।