वैदेशिक रोजगारीमा जाने युवाको मेडिकलमा सिण्डिकेट भयो : संघ

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगार जाने नेपालीको स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको गुनासो गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सिण्डिकेट धारिलो नाममा सीमित व्यक्तिले मात्रै फाइदा उठाएको व्यवसायीहरूले बताए।

तत्कालीन अवस्थामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा कानुनको धज्जी उडाउँदै अनैतिक साठगाँठमा नमूना कार्यक्रमको रूपमा ६ महिनाका लागि मात्र भनेर व्यापक असहमति राख्दाराख्दै लागु गरिएको सिण्डिकेट विरुद्धको महाअभियानमा हामी सबै एक ढिक्का भएर लागेका छौं। मलेसिया लगायत अन्य देशहरूमा लगाएको सिण्डिकेट अन्त्य नहुन्जेल लागि रहने प्रण गर्दछौं, संघका महासचिव कृष्णप्रसाद बजगाईंले भने।

हाल नेपाल सरकार मातहतमा दर्ता भई सञ्चालनमा रहेका २१२ वटा स्वास्थ्य संस्थाहरू रहेको र सबैलाई समान हक अधिकार, खुला प्रतिस्पर्धा तथा लगानीको सुनिश्चित गर्नुपर्ने संघले जनाएको छ। देशै पिच्छेको सिण्डिकेट खडा गरी मूल्यमा समेत कार्टेलिङ भएको आरोप उनीहरूले लगाए। ‘३६ वटा मलेसिया र १९ वटा स्वास्थ्य संस्थाले गाम्का संस्थाको नाममा काठमाण्डौं केन्द्रित भएर केन्द्रिकृत प्रणालीमा श्रमीकको पहुँचभन्दा दूर–दराजमा राज्यको नीति विपरीत सञ्चालित सिण्डिकेटधारी संस्थाहरू तत्काल बन्द गर्न पर्नेछ, महासचिव बजगाईंले भने।

उनले देशको कानुन नै फेरवदल गरेर सिण्डिकेट लगाउन विभिन्न संस्था वा व्याक्तिहरूको मिलेमतोमा रोजगारदाता मुलुकले नै फलाना–फलाना मेडिकल सेन्टरले स्वास्थ्य परीक्षण गर्ने भनेर तोकिएको गुनासो गरे। अहिले मलेसिया सरकारले नै सिण्डिकेट खारेज गरेको सूचना सम्प्रेषण गरी सकेको अवस्था छ।

पछिल्लो समय आधिकारीक इमेलमार्फत् आफ्ना मातहतका समन्वयकारी संस्थाहरूलाई जानकारी गराई सकेको छ। तर हाम्रो देशमा यो वा त्यो बहानामा मलेसिया बाट प्राप्त सूचनालाई गोप्य राखी जनमानसमा भ्रम सृजना गरी रहेका छन्। चाँडै नै मलेसिया लगायत अन्य देशको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य भाएको सूचना नेपाल सरकारको आधिकारीक निकायबाट प्रकाशित होस् भन्ने हाम्रो चाहाना छ, उनले भने।