काठमाडौं । सिरियाका अपदस्थ नेता बशर अल असदप्रति बफादार समूहको आक्रमणमा परेर त्यहाँको विद्रोही(नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका र अन्य १० अन्य घाइते भएका नयाँ प्रशासनका अधिकारीहरूले बताएका छन्। ती अलवाइत समूहका समर्थकहरू पूर्वनेता असदले मान्ने गरेको धार्मिक समूहका सदस्यहरू हुन्। यूके मुख्यालय रहेको एउटा अधिकारवादी समूह सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार कुख्यात सैदनाय जेलसँग सम्बन्धित एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले टार्टुस सहरमा पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको हो।
अलवाइत समूहको धार्मिक स्थलमा आक्रमण भएको एउटा भिडिओ सार्वजनिक भएपछि अन्य कैयौँ स्थानमा पनि प्रदर्शन भएका छन्। सिरियाको विद्रोही-नियन्त्रित सरकारका अधिकारीहरूले लडाइँ भूमध्यसागरको तटमा रहेको टार्टुस बन्दरगाहनजिकै मङ्गलवार भएको जनाएका छन्। दमास्कसनजिकैको कुख्यात सैदनाय जेलमा भएका गतिविधिसँग जोडिएको एक पूर्वअधिकारीलाई पक्राउ गर्ने प्रयास गरेका सुरक्षाकर्मीलाई एम्बुसमा परिएको विवरणहरूमा जनाइएको छ।
दुई हप्ता मात्रै अघि राष्ट्रपति असदले सत्ता गुमाएका थिए। इस्लामवादी हायत तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले सिरियामा सत्ता चलाइरहेको छ। यूके मुख्यालय भएको सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार तीन जना विद्रोही पनि उक्त झडपमा मारिएका थिए। उसका अनुसार त्यसपछि सुरक्षाकर्मीहरूले थप सहयोग मागेका थिए। विद्रोहीहरूले सिरियाको उत्तरपूर्वबाट सुरु गरेको लडाइँ देशभर विस्तार भएको थियो। त्यसले असद परिवारको ५० वर्षको सत्ता अन्त्य गराएको थियो।
त्यसपछि असद र उनको परिवार रुसमा भाग्न बाध्य भएका थिए। एचटीएसले सिरियाका विभिन्न धार्मिक र जातीय अल्पसङ्ख्यक समुदायको अधिकार र स्वतन्त्रता रक्षा गर्ने वाचा गरेको छ। उक्त सङ्गठनलाई संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेसहितका देशले आतङ्कवादी सङ्गठन सूचीमा राखेका छन्। मङ्गलवार एउट क्रिसमस ट्री जलाइएपछि देशभर प्रदर्शनहरू भएका थिए। त्यसपछि अल्पसङ्ख्यकको सुरक्षा गर्न नयाँ सरकारमाथि दबाव परेको थियो।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा मध्य सिरियाको एउटा इसाईबहुल नगरको एउटा मुख्य चोकमा क्रिसमस ट्री जलिरहेको देखिएको थियो। भिडओ फुटेजमा मास्क लगाएका व्यक्तिहरूले सिरियाका इसाईहरूले क्रिसमस ईभ मनाउने तयारी गरेको अघिल्लो रात क्रिसमस ट्री पहिचान नखुलेको तरल पदार्थ छर्किरहेको देखाइएको थियो। उनीहरूले आगो निभाउन खोजेका वा त्यसलाई थप बाल्न खोजेका थिए भन्ने स्पष्ट भएको छैन। एचटीएसले उक्त घटनालाई लिएर विदेशी फौजका सदस्यहरूलाई पक्राउ गरिएको जनाएको थियो।
बीबीसीबाट साभार