भीम रावलको पत्रकार सम्मेलन आज, एमालेको भण्डाफोर गर्ने

काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दैछन्। काठमाडौंको कार्की ब्यांक्वेटमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आगामी नीति, विचार, दृष्टिकोणबारे जानकारी दिन लागिएको रावलले बताएका छन्। साथै उनले एमालेको भण्डाफोर गर्ने समेत बताएकाछन् ।

रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन्। केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका छन्।

रावल पत्रकारसम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन्। देश दौडाहामा आफ्ना विचारसँग नजिक रहेकाहरूसँग अन्तरक्रिया गर्ने उनको तयारी छ। पुस १० गते बसेको नेकपा (एमाले) सचिवालय बैठकले रावललाई संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। उनले एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला २२३ मत ल्याएका रावल निरन्तर ओलीसँग संघर्षमा थिए।