काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ लाख ४७ हजार ५६७ जना पर्यटक भित्रिएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । नेपाल आउने पर्यटकको सूचीको पहिलो नम्बरमा भारतीय छन् । भारतबाट ३ लाख १७ हजार ७ सय ७२ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा रहेको अमेरिकाबाट १ लाख ११ हजार २१६ पर्यटक आएका छन् ।
चीनबाट १ लाख १ हजार ८७९ जना पर्यटक आएको तथ्यांक छ । नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त भयो । जुन गति २०२४ मा समेत विस्तार हुन सकेन ।२०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांकमा छ ।