कनेक्टिक्ट नेपाली समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न

धन लामा
डिसेम्बर ३१, कनेक्टिकट

कनेक्टिक्ट नेपाली समाज, अमेरिकाले संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत डिसेम्वर २९ तारिख आइतावार यूइङटनस्थित स्थानीय बल्लभधाम मन्दिरमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले संस्थाको बार्षिक कार्यप्रगति विवरणको पूर्ण पाठ र आगामी वर्ष सन् २०२० मा गरिने विविध कार्यक्रमहरु साधारण सभामा उपस्थित सदस्यहरु समक्ष प्रस्तुत गरको थियो । गत वर्षको आयव्यय विवरण र अध्यक्षज्यूद्वारा प्रस्तुत आगामी वर्षको कार्यक्रमको लागि अनुमानित बजेट संस्थाका सहकोषाध्यक्ष कुलदीप अधिकारीले सभामा निर्णयार्थ प्रस्तुत गरेको थियो । 

सदस्यहरुको माझमा बुँदागत छलफल पश्चात सदस्यहरुको सल्लाह र सुझावलाई समेट्दै सन् २०२० को वार्षिक कार्यक्रम अन्तर्गत नयाँ वर्ष २०७७, बुद्ध जयन्ति, समर पिकनिक, नेपाली भाषा कक्षा, युवा खेलकूद, तीज कार्यक्रम, दशैँ कार्यक्रम, रक्तदान कार्यक्रम, साहित्यिक कार्यक्रम, देउसी भैलो कार्यक्रम, पार्करोड परेड,  हेलो वेस्टहार्डफोर्ड लगायतका कार्यक्रमहरुको लागि कुल $४२,२००/- को बजेट उपस्थित सदस्यहरुको बहुमतले अनुमोदन गर्ने काम गर्यो । 

आजीवन र साधारण सदस्य गरि जम्मा ५६८ सदस्यहरु आवद्ध कनेक्टिक्ट नेपाली समाजले आफ्नो स्थापनाको गौरवपूर्ण ११ वर्षहरु पार गर्दा गर्दा संस्थाले आगामी कार्ययोजनाहरु बढी व्यवस्थित र सुचारु ढंगले संचालन गर्नको निम्ति संस्थाको विधानमा विद्यमान केही दफाहरुलाई पुनर्व्याख्या गर्दै मार्ग प्रसस्त गर्ने गर्ने काम यो साधारण सभाले गरेकोछ । 

यसका साथै समुदायसंग प्रत्यक्ष सरोकार राख्ने विविध औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुलाई निरन्तरता दिंदै कनेक्टिक्ट नेपाली समाज अमेरिका, संस्थाको बहुप्रतिक्षित बहुउदेश्यीय साँस्कृतिक भवन निर्माणको दिशामा अग्रसर भएको गहिरो अनुभूती प्राप्त भएको छ । कार्यक्रमको सन्चालन संस्थाका सचिव भद्र राईले गरेको थियो भने उपस्थित सदस्यहरूलाई संस्थाका उपाध्यक्ष जय राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेको थियो । साधारण सभामा संस्थाका भूतपूर्व अध्यक्षहरू घनश्याम खडका, तेजस विक्रम मल्ल र संस्थाका प्रमुख सल्लाहकार अशोक श्रीवास्तवको पनि उपस्थिति थियो ।