ट्रम्पको योजनामा अदालतको झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ ।
सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् । ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी गरेका थिए ।

यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा ट्रम्पको नागरिकता सम्बन्धी आदेश असंवैधानिक भएको तर्क प्रस्तुत गरिएको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ पछि अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त आदेशको पुष्टि समाचार एजेन्सी रोयटर्सले विहीबार प्रकाशित एक लेखमार्फत् पनि गरेको छ ।