‘ब्रेक थ्रु’ भयो सिद्धबाबा सुरुङ मार्ग

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङ मार्ग छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण थालिएको एक वर्षको अवधिमै ‘ब्रेक थ्रु’ भएको हो । दुई वर्षअघि नै ठेक्का लागेपनि सुरुङ् मार्गको काम भने एक वर्ष अगाडीबाट सुरु भएको हो । सुरुङ मार्ग छिचोलिएपछि अब लाइनिङ र विद्युतीकरणको काम सुरु हुने भएको छ । सुरुङ मार्गको भित्री भागमा लाइनिङ र विद्युतीकरणको काम गर्न अझैँ दुई वर्ष लाग्ने आयोजनाको कार्यालयले जनाएको छ । यस्तै बाहिर भागमा पनि दुई वटा हेलिप्याडसहितको काम गर्न बाँकी छ । सुरुङ् मार्गको बाहिरी क्षेत्रमा वाल उठाउने, बाटो चौडा गर्ने, रक सेड र रकनेट गर्ने कार्य भइरहेको छ ।

सुरुङ् मार्गको दक्षितर्फ दुई हजार तीन सय वर्गमिटर र उत्तरतर्फ एक हजार एक सय वर्गमिटर रकनेट र रकसेड प्रविधिमा प्रोटेक्सनको काम हुने आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् । सुरुङ् मार्ग छिचोलिए पनि भित्र र बाहिरको कामले तीव्रता पाउने उनले बताइन् । पाँच वर्षमा काम सक्ने गरी सरकारले वि.स. २०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरी काम थालेको थियो । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

हालसम्म एक हजार एक हजार ८९ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । कुल एक हजार १२६ मिटर सुरुङ खन्नुपर्ने भएपनि एक हजार ८९ मिटरमै सुरुङ् जोडिएको छ । सुरुङ मार्गको हालसम्म मार्गको भौतिक प्रगति ४० प्रतिशत भएको छ । यस्तै वित्तीय प्रगति ३९.९० प्रतिशत भएको छ । सुरुङको दक्षिणतर्फ ६१० र उत्तरतर्फ ४७७।२ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ ।

पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ र तेस्रो १३० मिटर लामा बाइपास टनेल छिचोलिएका छन् । सिद्धार्थ राजमार्ग बनेको ५० वर्षपछि यही मार्गको जोखिम मानिएको पाल्पाको तिनाउ–३, स्थित सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउन सुरु गरिएको हो । सिद्धार्थ राजमार्ग भएर हाल पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, रुपन्देही, बाग्लुङ्, पर्वतलगायतका नागरिकले यात्रा गर्दछन् ।

यसैबीच सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सहभागी भए । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, चिनियाँ राजदूत चेङ् सोङ्लगायत सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी भए ।