अमेरिकाले विश्वभर एकसाथ रोक्यो सहायता

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई पठाएको एउटा आन्तरिक पत्राचारमा उसले हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको पाइएको छ। अमेरिकी विदेश मन्त्रालयले आफू मातहतका निकायलाई पठाएको उक्त आन्तरिक मेमो चुहिएर बाहिर आएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले गत सोमवार अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

उक्त आदेशपछि मन्त्रालयले आफू मातहतका निकायहरूमा त्यस्तो पत्र पठाएको पाइएको हो। ट्रम्पले त्यस्ता सहायताहरूको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघि बढाउने उद्देश्यसाथ उक्त कार्यकारी आदेश जारी गरेको बताइएको छ। सरकारी तथ्याङ्कअनुसार अमेरिका विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने देश हो। उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो।

विदेश मन्त्रालयको सूचनापछि विकासदेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिएको छ।यद्यपि उक्त पत्राचारमा आपत्कालीन खाद्य सहायता र इजरेल तथा इजिप्टको सैन्य कोषका निम्ति रोक नलगाइएको बीबीसीले पुष्टि गरेको छ। उक्त पत्राचारमा कर्मचारीलाई निर्देशन दिँदै भनिएको छ, प्रत्येक प्रस्तावित नयाँ सहायता वा हाल कायम रहेका सहायताको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ सहायता वा विद्यमान सहायताहरूको विस्तारका लागि कुनै पनि नयाँ कोष बाध्य हुने छैनन्।ू

त्यसमा अमेरिकी अधिकारीहरूलाई सहायाताबारे समीक्षापछि विदेशमन्त्रीले निर्धारण गरेको समयसम्मका लागि सम्बन्धित सहायता अघि बढाउने सबै कार्यहरू तत्काल रोक्न पनि निर्देशन दिइएको छ। उक्त पत्रमा सबै वैदेशिक सहायताबारे व्यापक रूपमा ८५ दिनभित्र समीक्षा गरेर त्यसले राष्ट्रपति ट्रम्पका विदेश नीतिसम्बन्धी लक्ष्य पूर्ति गर्ने सुनिश्चित गर्न निर्देशन दिइएको छ।

ुअमेरिकी विदेशमन्त्री मार्को रुबिओले पहिले नै विदेशमा गर्ने सबै खर्चले अमेरिकालाई मजबुत, सुरक्षित वा अझ समृद्ध बनाउँछ भन्ने सुनिश्चित गर्नुपर्ने बताएका थिए। विदेश मन्त्रालयका एक जना वरिष्ठ पूर्व अधिकारीले उक्त सूचनाले अमेरिकाले अनुदान दिने सहायता कार्यक्रममा सम्भावित रूपमा ठूलो प्रभाव पार्न सक्ने बीबीसीलाई बताए।