काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला अदालतमा बहस एक साता चल्यो । त्यसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
थुनछेक बहसमा सरकारी वकिलले लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए । लामिछाने पक्षका वकिलले राज्यले प्रतिशोध साँधेको भन्दै बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो।