कंगोमा १३ शान्ती सैनिकको मृत्यु, नेपालीको अवस्था के छ ?

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरू विद्रोही एम२३ समूहसँगको भिडन्तमा मारिएका छन्। दक्षिण अफ्रिकाको सेनाले ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक रहेको जनाएको छ। त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएको बीबीसीले लखेको छ । नेपाली सेनाका प्रवक्ताले कङ्गोमा तैनाथ करिब ११ सय ५० नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको बीबीसीलाई बताएका छन्।

राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतवार राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा छलफल हुँदैछ। सोमवारका लागि तय भएको सो छलफल आइतवारका लागि सारिएको हो। फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रुवान्डाका नेताहरूसँग कुराकानी गरेको बताइरहँदा लडाइँ चर्किएपछि १० लाखभन्दा धेरै जनसङ्ख्या रहेको गोमाबाट राष्ट्रसङ्घले अत्यावश्यकबाहेकका कर्मचारी फिर्ता गरिरहेको छ।