काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीले सांसदसँँग समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् । सोही अनुसार अघि बढ्न उनले निर्देशन समेत दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिए । सांसद रामहरी खतिवडाका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए ।
मन्त्रीहरूले यस बारे जवाफ दिनुपर्ने भएकाले माघ १८ मा पुनः संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताए । उनले बैठकमा सांसदहरूले दुई ठुला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भिर भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।