इलन मस्क भन्छन : यूएसएआईडी बन्द हुन्छ

काठमाडौं । अमेरिकी ुसरकारी दक्षता विभागुका निर्देशक तथा टेक खर्बपति इलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागिएको बताएका छन् । उनले आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गरेका छन् । जसमा उनले यूएसएआईडी बन्दको प्रक्रिया थालिएको जानकारी गराएका छन् ।

‘यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई बन्द गर्दै छौँ । यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौँ ।’ ट्रम्पले बन्द गर्ने निर्णयमा समर्थन जनाएको समेत उनको दावि छ । एनबीसी न्युजका अनुसार यस कदमले संघीय प्रशासनविरुद्ध ट्रम्प र मस्कको संघर्षलाई सघन बनाएको छ । साथै, बजेट कहाँ र कसरी प्रयोग गर्ने भन्ने संसद्को संवैधानिक अधिकारलाई पनि चुनौती दिएको छ ।

संसदीय स्विकृतिबेगर संघीय निकाय बन्द गर्ने कानुनी अधिकार के हो भन्नेबारे मस्कले आफ्नो पोस्टमा केही पनि उल्लेख गरेका छैनन् । यो प्रक्रिया कहिलेदेखि शुरु गर्ने भन्ने पनि खुलाएका छैनन् । यस विषयमा ट्रम्पसँगै धेरैपटक छलफल भएको र यसमा राष्ट्रपतिको पूर्ण समर्थन रहेको मस्कको दाबी छ ।


ह्वाइट हाउसले यस विषयमा कुनै प्रतिकृया दिएको छैन । ट्रम्पले भने आइतबार मात्रै मस्कले ‘राम्रो काम गरिरहेको’ बताएका थिए । उनले यूएसएआईडी चाहिँ ‘केही उग्र मूर्खहरूको समूहले चलाएको’ भनेर आलोचना गरेका थिए । तथापी ट्रम्पले सदनको समर्थनबेगर नियोग बन्द गर्ने कुनै योजना सुनाएका थिएनन् । सन् २०२३ मा १ सय ७६ देशलाई ६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रदान गरेको थियो । अमेरिकाले अनुदान दिने मुलुकहरूको सूचीमा नेपाल १६ औं स्थानमा छ ।