प्रतिनिधिसभा बैठक आज, प्रचण्डको विशेष सम्बोधन

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

संसदमा विचाराधीण अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन् । प्रचण्डले पनि त्यसै विषयसँगै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।