काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पनि पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रमा ताप्लेजुङको फुङलिङ नगरपालिका १ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका ५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारालाई पक्राउ गरिएको थियो । उनीहरूले गत माघ २४ मा राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए । पक्राउ परेकाहरू अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता हुन् ।
घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले जोशीलाई अनुसन्धानको दायरामा ल्याएको थिएन । सरकारको नेतृत्व गरिरहेको एमालेको संरक्षणमा कारबाहीको दायरमा नल्याइएको भन्दै आलोचना भएपछि प्रहरी जोशीलाई पक्राउ गर्न बाध्य भएको हो । क्यूआरटी मोटरसाइकलमा रहेका दुई प्रहरीलाई उनीहरुले कुटपिट गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ ।