काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले अब पोखरा–चीन नियमित उडान गर्ने भएको छ । कम्पनीले आगामी महिनाबाट पोखरा–ल्हासा रुटमा नियमित उडान गर्ने घोषणा गरेको छ । यद्दपी मिति भने तय भएको छैन । मार्च २०२५ बाट कम्पनीले नियमित उडानको योजना बनाएको बताएको छ ।
हिमालयले विभिन्न चिनियाँ शहरलाई काठमाडौंसँग सिधा उडानमा जोडेको छ । उसले पोखरामा समेत यस्तै ऐतिहासिक उडानको तयारी गरेको हो । हिमालय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी हुनेछ ।
यसअघि पोखरामा चार्टर्ड उडानहरु भने भएका छन् । तर, नियमित उडान हुन नसक्दा यो विमानस्थलमा गरिएको लगानीको औचित्यमाथि प्रश्न उठिरहेको थियो । भैरहवा विमानस्थलमा भने विभिन्न कम्पनीले राम्रो अक्कुपेन्सीमा नियमित उडान गरिरहेका छन् ।