चप्पल लगाएर सवारी हाँक्न रोक, अन्य नियम के के आए ?

काठमाडौं । अब नेपालमा सवारी साधन चलाउने चालकहरुले अनिवार्य जुत्ता लगाउनु पर्ने भएको छ । सरकारले दूर्घटना न्यूनिकरणका विभिन्न उपायमध्ये अनिवार्य जुत्ता लगाउनु पर्ने प्रावधान समेत अगाडी ल्याएको छ ।

चप्पल लगाएर सवारी चलाउँदा चिप्लिले जोखिम हुँदा ब्रेक समयमै नलाग्ने र त्यसले दूर्घटनाको डर हुने जोखिम हुन्छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको सूचना अनुसार चप्पल लगाएर सवारी हाँके अब कारवाही हुनेछ ।

चार पाङग्रे सवारीको अगाडिको सिसामा स्टिकर र अन्य सामाग्री टाँस्न नपाइने भएको छ । ब्यानर वा कुनै प्रचार सामग्रीका स्टीकर सवारी साधनको अगाडीको सिसामा राख्न नपाइने भएको छ ।

क्याबिनमा सजावट र म्युजिक सिस्टमका सामान समेत नराख्न विभागले सूचित गरेको छ । यसले चालकले अगाडी राम्रोसँग देख्न नसक्ने विभागको भनाई छ ।

लामो दूरीको यात्रुबाहक सवारीले ढोकामा यात्रु क्षमता र सवारी यात्रुको संख्या टाँस्नुपर्ने भएको छ ।

यात्रुबाहक सवारी चलाउने चालकको फोटो र अनुमतिपत्रको विवरण पनि अब सबैले देख्ने ठाउँमा राख्नुपर्नेछ ।

लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा अब रिसोलिङ गरेको टायर अगाडि राख्न पाउने छैन ।

अघिल्लो भागमा कमजोर टायर हुँदा दुर्घटनाको जोखिम बढी हुन्छ । सवारी साधन भित्र र बाहिरको कुनै पनि साहित्य वा स्लोगनसमेत राख्न नपाइने प्रावधान आएको छ ।

पछिल्ला दिनमा ठूला यात्रुबाहक बस दूर्घटनामा अकालमा धेरै मानिसको ज्यान गएपछि अहिले सरोकारवाला निकाय त्यसको न्यूनिकरणमा सक्रिय भएका छन ।