अचेत भेटिएका बागमती प्रदेश मन्त्रीका स्वकीयको उपचारको क्रममा मृत्यु

काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ। सोमबार काठमाडौं महानगरपालिका(१४ कलंकीको एक घरमा ३६ वर्षीय थापा अचेत अवस्थामा भेटिएका थिए। उनको सहिद मेमोरियल अस्पताल पुर्‍याई उपचार गराउँदा चिकित्सकले सोमबार साँझ साढे ६ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

धादिङ धुनिबेशी नगरपालिका-८ घर भएका उनी यादव गौतमको साढे २ तले घरमा डेरा गरी बसेका शिव कुँवरकहाँ पुगेका थिए। कोही नभएको अवस्थामा सुतिरहेका उनी पछि अचेत भेटिएका थिए। त्‍यसपछि उनलाई अस्पताल पठाइएको थियो। उनले विष सेवन गरी आत्महत्या गरेको आशंका छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटनास्थलबाट एउटा सुसाइड नोट फेला परेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।