अफगानिस्तानमा असिना र वर्षा, कम्तिमा २९ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । “पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ जना घाइते भए”, प्रान्तको विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले भने, पीडित पिकनिकमा गएका दुई परिवारका सदस्यहरू रहेको उनले बताए । दक्षिणी कान्दाहारमा स्थानीय विपद् व्यवस्थापन विभागले एक विज्ञप्तिमा भारी वर्षाका कारण विभिन्न स्थानमा महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको बताएको छ ।

“आज कपडा धुने काममा व्यस्त चार महिलालाई बाढीको पानीले बगाएर लगेको थियो, एक महिला मात्र बाँच्न सफल भइन्”, वक्तव्यमा भनिएको छ ।
कान्दाहारमा एक परिवारको छत खस्दा एक बच्चा डुबेको र एक महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ । दशकौँसम्मको युद्धपछि विश्वका सबैभन्दा गरिब देशमध्ये अफगानिस्तान विशेष रूपमा जलवायु परिवर्तनको प्रभावमा परेको छ । वैज्ञानिकहरूका अनुसार यस मुलुकमा चरम मौसमी घटनाहरू बढिरहेका छन् ।

यो जलवायु परिवर्तनप्रति सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र विकास एजेन्सीका अफगानिस्तानस्थित प्रतिनिधि स्टिफेन रोड्रिक्सले सन् २०२३ मा खडेरी, बाढी, भूमि क्षरण र कृषि उत्पादकतामा गिरावट प्रमुख खतराहरू रहेको बताए । गत वर्ष मे महिनामा आएको आकस्मिक बाढीले अफगानिस्तानमा सयौँ मानिसको ज्यान लिएको थियो र कृषि भूमिको ठूलो भाग डुबानमा परेको थियो । त्यहाँ ८० प्रतिशत मानिस बाँच्नका लागि खेतीमा निर्भर छन् । राससएएफपी