पाकिस्तान रेल अपहरण काण्ड : कारवाहीका दौरान सेनासहित ५८ को मृत्यु

काठमाडौं । दक्षिणपश्चिम पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा ३०० जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानको सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ लडाकु मारिएको दाबी गरेका छन्। बलोच लिबरेशन आर्मी (बीएलए)ले रेलमा आफूले आक्रमण गरेको दाबी गरेको छ। यद्यपि पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ समेत बिहीवार उक्त दक्षिण पश्चिमी प्रान्तको राजधानी क्वेटा पुगेर त्यहाँ घातक रेल हमलापछिको सुरक्षा अवस्थाको समीक्षा गरेका छन्। पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २१ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो।

मङ्गलवार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बीएलएका लडाकुले गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। उक्त रेलमा करिब ४४० यात्रु सवार रहेको सैन्य प्रवक्ताले बताएका छन्। सेनाले उक्त क्षेत्रमा अन्य जोखिम भए नभएकोबारे जाँच गरिरहेको जनाएको छ।

अङ्ग्रेजी पत्रिका ुडनुका अनुसार पाकिस्तानी सेनाले उक्त घटना अफगानिस्तानभित्र रहेका लडाकुहरूले गराएको आरोप लगाएको छ। पाकिस्तानको गुप्तचर निकायले आफूसँग उक्त आक्रमणका योजनाकारहरू अफगानिस्तानमा रहेको कुरा पुष्टि गर्ने ‘अकाट्य प्रमाणू रहेको जनाएको छ। पाकिस्तानी पक्षले तालिबानलाई आफ्ना ‘अन्तर्राष्ट्रिय उत्तरदायित्वू वहन गर्न आह्वान गरेको छ। पाकिस्तानले यसअघि आफ्नो भूमिमा भएका केही आक्रमणमा तालिबानको संलग्नता भएको आरोप लगाउने गरेको थियो।

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले उक्त रेलबाट केही लडाकुहरूले बन्धकहरू समेत लिएर वरपरको पहाडी भूभागतिर गएको विवरण प्रकाशित गरेका छन्। आक्रमणका समयमा वरपरको क्षेत्रमा भागेका यात्रुहरूको खोजी भइरहेको पाकिस्तानी सेनाले जनाएको छ। कति यात्रुहरू सम्पर्कविहीन छन् भन्नेबारे स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्। बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ।