रविन्द्र मिश्र र धवल शमशेर २४ घण्टा भित्र रिहा नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् ।

मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उनले जानकारी दिए । तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ निर्णय सार्वजनिक गर्दै लिङ्देनले भने । शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

बैठकले तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरे । ‘हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भनेका छन्, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो,’ उनले भने ।