ओली र मोदीबीच आज थाइल्याण्डमा भेटवार्ता, डिनर मिटिङमा सँगै देखिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । यसअघि बिहीबार साँझ बिमस्टेक सम्मेलनअगाडि बैंककमा आयोजना गरिएको डिनरमा उनीहर सँगै देखिएका छन् । मोदीको अर्को छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस बसेका थिए । मोदीसँग ओली र युनुसको पछिल्लोपटक सत्तासिन भएपछिको भेटको सन्दर्भ उत्तिकै दुर्लभ देखिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएको वेला गत ७ असोजमा न्युयोर्कमा ओली र मोदीबीच भेट भएको थियो ।

त्यस्तै, बंगलादेशमा गत वर्ष अगस्टमा भएको सत्तापलटपछि मोदी र युनुसबीचको यो पहिलो प्रत्यक्ष भेट हो । त्यतिबेला प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि भारतमा शरण लिएकी थिइन्, जसले दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याएको थियो। ओली र मोदीबीच आज अपराह्न ४ बजेदेखि ४ः२० सम्म भेटवार्ता तय भएको छ । आजको भेटसँगै ओली र मोदीबीच तेस्रो देशमा दोस्रो भेटवार्ता हुनेछ । पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने ओलीको प्रयास अहिलेसम्म सफल भएको छैन । वर्तमान सरकार बनेको अहिले नौ महिना बितिसकेको छ ।