बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब

Photo : Jim Huylebroek/The New York Times

काठमाडौं । अफगानिस्तानबाट पाँच लाख थान अमेरिकी हतियार गायब भएको बीबीसीले एक विशेष खुलासा गरेको छ । सूत्रलाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ती हतियार बिक्री वा तस्करी भएको छ । संयुक्त राष्ट्रसंघका केही अधिकारीका अनुसार गायब भएकामध्ये केही हतियार अलकायदासँग सम्बन्धित चरमपन्थी संगठनसम्म पुगेको आशंका छ ।

तालिबानले सन् २०२१ मा अफगानिस्तानलाई फेरि नियन्त्रणमा लिँदा करिब १० लाख थान सैन्य हतियार र सामग्रीहरुको भण्डार थियो । त्यसमा धेरैजसो अमेरिकाको वित्तीय सहायतामा खरिद गरिएको थियो । त्यसमा अमेरिकामा निर्मित एम फोर र एम सिक्सटिन राइफलसहित अफगानिस्तानका पुराना हतियारहरु पनि सामेल थिए ।

तालिबानले सन् २०२१ मा अफगानिस्तान कब्जा गर्दा अफगान सैनिकहरुले आफ्ना हतियार र बाहनहरु सहित आत्मसमर्पण गरेका थिए । अमेरिकी सैनिकहरुले पनि आफ्ना केही हतियार र सैन्य उपकरणहरु छाडेर फर्किएका थिए । बीबीसीका अनुसार दोहामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रतिबन्ध समितिको बैठकमा तालिबान नेताले आधा हतियार र सैन्य उपकरण गायब भएको स्वीकार गरेका छन् । जुन करिब पाँच लाख हाराहारी हो ।