१४ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
“सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसद बैठकमा यस्तो बताएका थिए । उनलाई उदृत गर्दै सञ्चारमाध्यमले समाचार लेखेका थिए ।