बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

१९ वैशाख, काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजा चाल्र्सले विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।


बेलायती राजाले नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गरेको लण्डनस्थित नेपालको दूतावासले जनाएको छ । दुई शताब्दी लामो द्विदेशीय सम्बन्धको चर्चा गर्दै राजदूत घिमिरेले नेपालको सामाजिक–आर्थिक विकासका खातिर संयुक्त अधिराज्यबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गरे ।

राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राजाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै संयुक्त अधिराज्यका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । त्यस अवसरमा राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद, बेलायती विदेश मन्त्रालय तथा नेपालको दूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।