कल्पना घिमिरे, न्युयोर्क
न्युयोर्कको म्यानह्याटनमा आगामी आईतबार (मे १८) मा हुन लागेको सातौं नेपाल डे परेड २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । गैर-आवासीय नेपाली संघ, न्यूयोर्क शाखाको आयोजनामा हुन लागेको परेड डेमा न्युयोर्कमा संचालित बिभिन्न नेपाली संघ संस्था र नेपाली समुदायको सक्रिय सहभागीता रहने नेपाल डे परेड २०२५ संचालन समितिले जनाएको छ । परेडमा म्यानह्याटनको ३८ स्ट्रिट र मेडिसन एभिन्युमा सहभागी भएर बिभिन्न बाजा गाजा र झांकीसहित नेपाली पहिचान प्रस्तुत गरिनेछ ।

समितिले बिहिबार ज्याक्सन हाईटमा पत्रकार सम्मेलन गरि परेड डेका लागि आवश्यक पर्ने आर्थिक संकलन जुटाईसकिएको साथै सबै तयारीहरु पुरा भएको जानकारी दिएको हो । समितिका आर्थिक संयोजक कृष्ण आचार्यले आर्थिक संकलनका लागि डाईमन्ड, प्लाटिनम र सिल्भर गरी बिभिन्न बिधामा दाताहरुले रकम सहयोग गरेको बताए ।

डाईमन्ड स्पोन्सर अन्तरगत ५ हजार अमेरिकी डलर, प्लाटिनम स्पोन्सरका लागि ३ हजार ५ सय र सिल्भर स्पोन्सरका लागि १ हजार अमेरिकी डलर सहयोग गरिएको छ । साथै परेड डे लाई सफल रुपमा सम्पन्न गर्नका लागि बिभिन्न संस्थाहरु र ब्यक्तिगत रुपमा सगयोग गरिएको समितिले जनाएको छ ।

नेपाल डे परेडकी कन्भेनर मनिता गुरुडले अत्यन्तै छोटो समयमा परेड डेको तयारी गरेको जानकारी दिदैं सबै नेपाली समुदायका संघ संस्थाका प्रतिनिधि र ब्यक्तिहरुलाई परेड डेमा सहभागी भईदिन आह्वान गरेकी छिन । ‘तपाई हाम्रो सहभागीता भयो भने मात्रै नेपाली समुदायको एकता, संस्कार र मौलिकताको प्रतिविम्ब झल्काउन सकिनेछ। परेडमा सबै जना आएर सहयोग गरिदिनु होला’ कन्भेनर गुरुडले भनिन् !
परेडका अध्यक्ष छिरिडं शेर्पाले सबै जातजाती र भेषभुषा झल्काउने नेपाल र नेपालीको परेडमा नपाली समुदायका सबैलाई आईदिन आह्वान गरेका छन् । परेड डे गर्ने कि नगर्ने भन्ने अन्योलताकै बीच गर्ने निर्णय गरेर तयारी गरिरहदा अत्यन्तै खुसी लागिरहेको पनि उनले बताए ।