गाजामा युद्धका कारण पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य : संयुक्त राष्ट्रसङ्घ

Women mourn relatives killed in an Israeli strike, at Al-Shifa hospital in Gaza City on May 26, 2025. Rescuers said at least 20 people were killed, mostly children, and more than 60 wounded in an Israeli strike on a school sheltering displaced people in Gaza City on May 26. (Photo by Omar AL-QATTAA / AFP)

एजेन्सी
१३ जेठ, काठमाडौं । युद्धका कारण गाजा क्षेत्रमा केवल पाँच प्रतिशतभन्दा कम मात्र कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सोमबार जनाएको छ । यो अवस्था यस क्षेत्रका जनतामा खाद्य सङ्कट र भोकमरीको जोखिमलाई थप गम्भीर बनाउने सङ्केत हो । इजरायलले हमासविरुद्ध गाजामा आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएको छ । अन्तर्राष्ट्रिय समुदायबाट यस अभियानप्रति आलोचना भइरहेको छ । यद्यपि झण्डै तीन महिनासम्मको नाकाबन्दीपछि केही मात्रामा राहत सामग्री प्रवेश गर्न थालेको छ । तर, खाद्य र औषधिको अत्यन्तै कमी कायमै छ ।

एफएओको हालै सार्वजनिक गरिएको विश्लेषणअनुसार अप्रिलको अन्त्यसम्म ८० प्रतिशतभन्दा बढी कृषि क्षेत्र क्षतिग्रस्त भइसकेको थियो भने करिब ७८ प्रतिशत क्षेत्रमा पहुँचसमेत छैन । अहिले जम्मा चार दशमलव ६ प्रतिशत खेतीयोग्य क्षेत्र मात्र प्रयोग गर्न सकिने अवस्थामा रहेको छ । एफएओका अनुसार हाल खेतीका लागि जम्मा ६८८ हेक्टर (झण्डै एक हजार ७०० एकड) भूमि मात्र बाँकी छ । दक्षिण गाजाको राफा क्षेत्र र केही उत्तरी भागहरूमा अवस्था विशेष रूपमा गम्भीर रहेको उल्लेख गरिएको छ, जहाँ अधिकांश कृषि भूमि अहिले प्रयोगमा ल्याउन असम्भवजस्तै भएको छ ।

एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले भने, खेतीयोग्य जमिन, हरितगृह र पानीका स्रोतहरू नष्ट भएपछि गाजामा स्थानिय उत्पादन पूरै बन्द भएको अवस्था छ ।” युद्ध सुरु हुनु अघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र झण्डै पाँच लाख ६० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेती, पशुपालन वा माछापालनमा आश्रित थिए । हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ मा युद्धविराम टुटेपछि हालसम्म कम्तीमा तीन हजार ७८५ जनाको ज्यान गएको छ । कुल युद्ध पीडितको सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन् ।

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २१८ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए । सो आक्रमणमा २५१ जनालाई अपहरण गरिएको थियो, जसमध्ये हाल ५७ जना गाजामा रहेका छन् । इजरायली सेनाका अनुसार तीमध्ये ३४ जनाको मृत्यु भइसकेको छ ।