काठमाडौं । काठमाडौं उपत्यकामा भएको ट्रली बस राजनीतिक खिचातानीका कारण अस्ताएको करीव एक दशक पुग्न लागिसक्यो ।
नेपाल विद्यूत प्राधिकरण भन्छ, नेपाल अब विद्यूतमा आत्मभिर्नर भयो, खपत बढाइदिनुस । तर, विद्यूत खपत बढाउने गरी अगाडी बढेका धेरै योजना भने अलपत्र अवस्थामा छन् । त्यस्तै भएको छ विजुली बसमा समेत ।
साझा यातायातले ३ सय वटा विजुली बस चलाउने गरी सरकारबाट हतार हतार ३ अर्ब रुपैयाँ बजेट लियो ।
अर्थमन्त्रीलाई पनि गत आवको विकास खर्च धेरै देखाउनु थियो, हतारमै निर्णय गराइदिए । तर, अहिलेसम्म पनि विजुली बस किन्नु त कहाँ हो कहाँ प्रक्रिया पनि थालिएको छैन ।
यसमा साझा, केन्द्र सरकार सँगै स्थानीय र प्रदेश सरकारले समेत सहकार्य गरेका थिए ।
तर, अब यो सम्झौताबाट बागमती प्रदेश सरकार पछि हटेको छ ।
अब प्रदेश सरकार आफैले विजुली बस चलाउने निर्णय गरेको छ । बागमती प्रदेश सरकारले ३० करोड दिने सम्झौत गरेकोमा त्यसबाट सरकार पछि हट्दै आफै चलाउने निर्णयमा पुगेको हो ।
काठमाडौं महानगरपालिकाले १० तथा ललितपुर महानगरपालिकाले साढे २ करोड दिने र साझा यातायातले साढे २ करोड लगानी गर्ने गरी कूल ३ अर्ब ४५ करोडको योजना अगाडी बढेको थियो ।
तर, त्यो सफल हुने नदेखिएपछि प्रदेश सरकार आफै सक्रिय बन्न निष्कर्षमा पुगेको छ । प्रदेश सरकारले चलाउने साझा बस भने उपत्यकामा मात्र सिमित हुने छैन । यसले प्रदेशभर सेवा दिने लक्ष्य राखेको बताईएको छ ।