काठमाडौं । आज सार्वजनिक सवारी सञ्चालकहरुले देशैभरी बन्द आह्वान गरेका छन् । सार्वजनिक सवारी नचल्दा यात्रुको विचल्ली भएको छ । अत्यावश्यक काममा निस्कनु पर्ने यात्रु समेत आज विचल्लीमा परेका छन् । राजधानीसहितका शहर र राजमार्ग सुनसान देखिएको छ । यात्रुले हिँडेर गन्तव्यतर्फ लम्किरहेको देखिन्छ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा नचलाएको बताए ।
काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् । बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ । कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ । यसै मेसोमा राइड सेयरिङको नाममा बढी भाडा असल्ने धन्धा समेत फस्टाएको छ ।